कम्युनिष्टबाट मुक्ति नै देशको मुक्ति हो: शंकर भण्डारी

शंकर भण्डारी- केन्द्रीय सदस्य एवं संयोजक तरुण विभाग,नेपाली कांग्रेस

“कम्युनिष्टलाई विश्वास गर्दा, दोश्रो जनआन्दोलको जनादेशभन्दा बाहिर गएर निर्णय लिंदा, मुलुकको मौलिक संस्कृति, परम्परा र विशिष्टतालाई भत्काउने कार्यमा साथ दिंदा कांग्रेस कमजोर भयो लोकतन्त्रका विरोधीहरु लोकतन्त्रका पहरेदार बन्न पुगे । जति छिटो कांग्रेसले कम्युष्टिलाई बोक्न छाड्छ र हिजो गरेका गलत निर्णयहरु सच्याउने साहस गर्छ त्यति नै छिटो मुलुकले निकास पाउँछ ।”
मुलुक कोभिड–१९ ले आक्रान्त भएको छ । नागरिकहरु कोरोना महामारीबाट बच्ने आधारभूत स्वास्थ्य सुविधा नपाएर छटपटाउँदै मृत्युवरण गर्न बाध्यछन् । आर्थिक गतिविधि ठप्प हुँदा गरिबका घरमा चुल्हो बलेको छैन । तर विडम्बना जनताको सेवामा अहोरात्र खटनु पर्ने सरकारले प्रहसन गरेको गाइजात्राको आलोचना गर्ने शब्दावली नै शब्दकोषमा छैन । मुलुकको राजनीति इतिहासकै बेथिति, अराजकता र अन्यौलतातर्फ धकेलिएको छ ।

जनताले कम्युनिष्टलाई करिब दुई तिहाइ मतले जिताए । तर देश र जनताप्रति कहिल्यै इमान्दार नहुने कम्युनिष्टहरुले आफ्नो वास्तविक चरित्र देखाएरै छाडे । दमन, शोषण, हत्या, हिंसा, भ्रष्टाचार, छलकपट र अराजकता कम्युनिष्टको जन्मजात चरित्र हो भन्ने कुरा छर्लङ्ग भएको छ । केन्द्रको केपी ओलीको सरकार र प्रदेशमा रहेका कम्युनिष्ट सरकारले देखाएका अवैधानिक, अराजनीतिक र अनैतिक गतिविधिले विश्व समुदाय चकित परेको छ । एक्काइसौं शताब्दिमा यस्ता प्रकारका राजनीतिक हर्कत हुन्छन् भन्ने कल्पनासम्म पनि विश्वले गर्दैन तर त्यो नेपालमा कम्युनिष्टहरुले दोह¥याएको दोह¥याएई छन् । एक लज्जा त्याज्य सर्बत्र विजयी भवेत भने जस्तो कम्युनिष्टहरु लज्जाविहिन भएर जहाँतही विजयीभएको अनुभूति गरेका छन् । तर स्मरण रहोस् न्याय पे्रमी, शान्तिकामी र इमान्दार नेपाली जनताले यो बेइमानीको हिसाब किताबउपयुक्त समयमा गर्ने नै छन् । सायद कम्युनिष्टको सरकार नेपालमा यही नै अन्तिम होला ।

अहिलेको दुर्दशा निम्तिनुमा कांग्रेसले विगतमा लिएका केही नीतिहरु पनि जिम्मेवार छन् । तत्कालिन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँन कांग्रेस आवश्यकताभन्दा बढी उदार बन्यो । त्यो हदसम्म त ठिकै मान्न सकिएला किनकी देश र जनतालाई हिंसाको दुश्चक्रबाट मुक्त बनाउनु त्यो सम्झौता आवश्यक थियो । २०६२÷०६३ को जनआन्दोलनबाट प्राप्त जनादेशभन्दा अगाडि बढ्नु कांग्रेसको गल्तीथियो । जनआन्दोलनपछि विभिन्न शक्ति केन्द्रहरुको उक्साहटमा आएर केही यस्ता निर्णयहरु गरियो जुन नेपालको मौलिक परम्परा, सामाजिक संरचना, धार्मिक विशिष्टता र भौगोलिक संवेदनशितासँग मेल खादैन थियो । कम्युनिष्टलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याई शान्ति कायम गरी लोकतान्त्रिक प्रणालीको जग बसाउने सपना देखेको कांग्रेसका सारा सपना, त्याग, इमान्दारिता र बलिदान त्यसै खेर गएको छ ।

नेपालमा जनतालाई अधिकार सम्पन्न बनाउने, मुलुकलाई समृद्धिको बाटोमा लैजाने प्रजातान्त्रिक नेपालको परिकल्पना गर्ने जननायक विश्वेश्वर प्रसाद कोइरालाले कम्युनिष्टहरु इमान्दार हुदैनन् उनीहरुसँगको सहकार्यमा धोकामात्र हुन्छ भन्ने विचार राख्नु हुन्थ्यो । कम्युनिष्टसँग मिलेर देशलाई वर्वाद गर्नुभन्दा नेपालका परम्परागत शक्तिसँग मिलेर अघि बढनु पर्छ भन्ने मान्यताका साथ राष्ट्रिय मेलमिलापको नीति लिनु भयो । तर पछिल्लो समय कम्युनिष्टलाई लोकतन्त्रको सहयात्री र संरक्षक मान्ने गरी कांग्रेसमा विकास भएको दृष्टिदोषको उपज हो अहिलेको दुरावस्था ।

संविधान निर्माणको चरणमा जनभावनाको कदर गरिएन, बहुसंख्यक जनताले दिएको रायलाई वेवास्ता गर्दै आयातित प्रावधान संविधानमा राखियो जुन बिल्कुलै नेपाली मौलिकतासँग मेल खादैन थिए । जे जस्तो भएपनि जारी भएको संविधानको सबैतिरबाट हुर्मत लिने काम भएको छ । संविधानका संरक्षक राष्ट्रपतिले पटकपटक यसको उलंघन गर्ने, प्रधानमन्त्री संविधानभन्दा माथि भए जस्तो गरी निर्णय गर्दै जाने, देशका संवैधानिक निकायहरु संवैधानिक दायित्वबाट विमुख भएर कार्यकारीको लाचार छाँया बन्ने अवस्था सिर्जना हुनुले नेपालको संविधान क्षतविक्षत भएको छ । औचित्यहिन बनाइएको छ ।

नेपाली कांग्रेसकै भूमिकाले कम्युनिष्ट जस्तो अराजक शक्तिको विकास मुलुकमा भएको हो । कम्युनिष्टसँगको सहकार्य र सहयात्रालाई चटक्कै छाडेर आफ्नो सिद्धान्त, निष्ठा र आदर्श बमोजिम अगाडि बढ्नु आवश्यक छ । २०७२ को संविधानमा २०६२÷२०६३ को जनआन्दोलने स्थापित गरेका मान्यताभन्दा बाहिर गएर जे जस्ता निर्णय भएका छन् त्यसलाई हटाउनु पर्दछ । हरेक मुलुकका आफनै विशिष्ट मौलिक चरित्र हुन्छन् त्यो वास्तकितालाई अस्वीकार गर्दा मुलुकले अहिले दुःख पाएको छ । उक्त तथ्यलाई आत्मसात गर्दै नेपालको मौलिक संस्कृति, धर्म, मूल्यमान्यता र परम्परा सुहाउँदा व्यवस्थाहरु मात्र संविधानमा राखिनु पर्दछ । नेपाल वैदिक सनातन हिन्दु राष्ट्र हो र मुलुकलाई त्यही अवस्थमा फर्काउनुको विकल्प नै छैन । जति चाँडो कांग्रेसले आफ्नो राजनीतिक सिद्धान्त र आदर्श बमोजिमको बाटो समात्छ, कम्युनिष्ट जस्तो निरंकुश, अराजक र अलोकतान्त्रिक शक्तिलाई विश्वास गर्न छाड्छ त्यति नै छिटो मुलुकले निकास पाउँछ । देश र जनताले सुख पाउँछन् । कांग्रेसको अन्तिम र उत्कृष्ट बाटो त्यही नै हो । त्यसतर्फको यात्रा आजै आरम्भ गरौँ।