कार्यालय समयमा मोबाइल चलाए विमानस्थल कर्मचारीमाथि कारबाही हुने, मन्त्रीले गराए सचेत

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीहरुलाई कार्यालय समयमा मोबाइल फोनमा समेत संवाद नगर्न सचेत गराएका छन्।

मन्त्री भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायको छानबिनमा रहेका सो विमानस्थलका कर्मचारीलाई तत्काल हटाउने चेतावनी पनि दिए। ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुको सकारात्मक सोच’ विषयक प्रशिक्षण तालिमको आइतबार काठमाडौंमा उद्घाटन गर्दै उनले कुनै पनि दाग लागेका कर्मचारीहरुलाई सो विमानस्थलमा नराख्ने स्पष्ट पारेका हुन्।

मन्त्री भट्टराईले कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरुको तस्बिर आफूले संकलन गरेको उल्लेख गर्दै उनीहरुमाथि कारबाही गर्न पनि विमानस्थलका नेतृत्वलाई कडा निर्देशन दिए। सो विमानस्थलका अनुशासनहीन कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन सीसीटीभी क्यामेराको थप व्यवस्था गर्ने पनि मन्त्री भट्टराईको योजना छ। मन्त्री भट्टराईले सो विमानस्थल मुलुकको इज्जतसँग जोडिएकाले पनि यसका कर्मचारीहरु बढी अनुशासित हुनुपर्ने पनि बताए।